राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६

शान्तिराम दाहाल

पाठ्यक्रम प्रारूप शिक्षा पद्धतिको मार्गदर्शक दस्तावेज हो । विद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप २०७६ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विद्यालय शिक्षा पद्धतिलाई मार्गदर्शन गर्ने दृष्टिकोणलाई प्रतिविम्बित गरेको छ । विश्वमा भएका नवीनतम शैक्षिक परिवर्तन एवम् नेपालको वर्तमान सन्दर्भ र स्थानीय आवश्यकतालाई दृष्टिगत गर्दै यसले समाजवादउन्मुख राष्ट्र निर्माणका लागि सामाजिक न्यायमा आधारित सक्षम र प्रतिस्पर्धी नागरिक विकास गर्न विद्यालय शिक्षाको भावी मार्गचित्र तय गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप विकासको औचित्यका (११वटा)

  • संवैधानिक व्यवस्था र मुलुकको सङ्घीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमसम्बद्ध कार्यलाई व्यवस्थित गर्नु

  •  विद्यालय शिक्षाको संरचनाअनुरूप प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा १२ सम्मको पाठ्यक्रम विकास कार्यलाई दिशानिर्देश गर्नु

  •  पाठ्यक्रम विकास तथा कार्यान्वयनसँग सम्बन्धित सैद्धान्तिक र नीतिगत आधार तय गर्नु 

  •  परिवर्तित सन्दर्भमा शिक्षालाई समानताको कारकका रूपमा स्थापित गर्न गुणस्तरीय विद्यालय शिक्षाका लागि सिकाइ सहजीकरण मापदण्ड निर्दिष्ट गर्नु 

  • विद्यालय शिक्षामा प्रविधिमैत्री सिकाइलाई सुनिश्चित गर्ने आधारशिला खडा गर्नु 

  •  विद्यार्थी मूल्याङ्कन, प्रमाणीकरण, समकक्षता तथा राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनु 

  • राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा तहगत एवम् कक्षागत पाठ्यक्रम संरचनामा समसामयिक सुधार गर्नु 

  • समसामयिक परिवेश, समाजको माग, सिकारुका आवश्यकतालगायतका वस्तुनिष्ठ आधारमा पाठ्यक्रम विकास तथा सुधार गर्नु  

  • राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धतालाई सम्बोधन गर्नु 

  • राष्ट्रको दीर्घकालीन विकासको लक्ष्यअनुरूप विद्यालय शिक्षाका माध्यमबाट मुलुकको विकासमा स्तरोन्नतिका लागि सहयोग गर्नु 

  • सङ्घीय संरचनाअनुकूल हुने गरी मौजुदा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई परिमार्जन गरी स्थानीय तहको भूमिकालाई सुनिश्चित गर्नु

विषयक्षेत्रगत समूह ( Thematic group) गठन (७ वटा)

पाठ्यक्रम प्रारूप निर्माण कार्ययोजनाले निर्दिष्ट गरेअनुरूप नयाँ प्रारूप विकास गर्नका लागि विद्यालय शिक्षाको प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा १२ सम्म समेटिने गरी विद्यालय शिक्षाको पाठ्यक्रम विकासका सैद्धान्तिक आधारहरू, विद्यालय शिक्षाको दूरदृष्टि, राष्ट्रिय उद्देश्य, सक्षमता, पाठ्यक्रम संरचना, मूल्याङ्कनलगायतका पाठ्यक्रमसम्बद्ध विविध पक्षहरूमा विज्ञ समूहबाट प्रारम्भिक अवधारणा विकास गर्न देहायअनुसारका सातओटा विषयक्षेत्रगत समूह गठन भई प्रारम्भिक मस्यौदा गरिएको थियो :


१. प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ३ सम्मको पाठ्यक्रम संरचना

२. विद्यालय शिक्षाको दृष्टिकोण, राष्ट्रिय उद्देश्य, तहगत सक्षमता ३. साधारण धारको पाठ्यक्रम ढाँचा

४. संस्कृत तथा परम्परागत शिक्षाको पाठ्यक्रम ढाँचा ५. प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम संरचना

६. सिकाइ सहजीकरण प्रक्रिया, मूल्याङ्कन र प्रमाणीकरण

७. पाठ्यक्रम सिद्धान्त, नीति र अन्य सान्दर्भिक विषयहरू




प्रारम्भिक बालविकास

चार वर्षको उमेर पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गरिने छ । चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने छ । प्रारम्भिक बालविकास र शिक्षाको मुख्य उद्देश्य विविध किसिमका मनोरञ्जनात्मक सिकाइ सहजीकरण क्रियाकलापका माध्यमद्वारा बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुयाउनु र कक्षा १ मा प्रवेशका लागि तयार पार्नु हुने छ । प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम बालबालिकाको उमेरगत विकासात्मक पक्षलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिने छ । यस तहमा बालबालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् । प्रारम्भिक बालविकास र शिक्षाका सक्षमताहरू निम्नानुसार हुने छन् :

१. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता

२. पोषणयुक्त खाना र स्वस्थकर बानी विकास

३. वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन

४. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन

५. सिर्जनात्मक सोचको विकास

६. भाषिक तथा सञ्चार सिपको विकास


आधारभूत शिक्षा (कक्षा १ - ८) का सक्षमताहरू
आधारभूत शिक्षाले विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमद्वारा बालबालिकामा अन्तर्निहित प्रतिभाको विकास गर्नुपर्छ । यसको मूल उद्देश्य राष्ट्र प्रेम र लोकतन्त्रमा विश्वास गरी राष्ट्रियताको संरक्षण र संबर्धन गर्ने, अधिकार र कर्तव्यको पालनासहित स्वतन्त्रताको सम्मान गर्ने, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत भई मानवीय मूल्य र मान्यताअनुकूल व्यवहार गर्ने कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नु हो । यस तहको शिक्षा ग्रहण गरिसकेका बालबालिकाहरू आफ्ना विचार आदानप्रदान एवम् दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्षम, स्वावलम्बी, परिश्रमी, वैज्ञानिक सुझबुझ भएका, स्वास्थ्यप्रति सचेत र नैतिकवान् हुने छन् । आधारभूत शिक्षाका सक्षमता देहायबमोजिम हुने छन् : १. देशप्रेम र राष्ट्रिय एकताको भावनाबाट ओतप्रोत एवम् लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारको विकास व्यवहारमा प्रदर्शन । २. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग ३. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग ४. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप एवम अभिवृत्ति विकास र प्रयोग ५. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग ६. मानवमूल्य र मान्यता एवम् सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजग ७. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासविचको अन्तरसम्बन्धको बोध र व्यवस्थापनमा सहयोग
८. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप (Life skills) को विकास ९. स्थानीय, आधुनिक पेसा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप ( Soft skills) को प्रयोग १०. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको विकास र प्रयोग ११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, विश्वबन्धुत्व र सहअस्तित्व बोध तथा स्वीकार १२. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान (क) आधारभूत शिक्षा (कक्षा

माध्यमिक शिक्षा (कक्षा ९-१२ ) का सक्षमता

सिकाइ र वास्तविकताबिच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने, स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने, नवीनतम ज्ञानको खोजी र प्रयोग गर्ने, अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, स्वस्थ जीवनको अभ्यास गर्ने, तार्किक वि गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने, नैतिक आचरण प्रदर्शन गर्ने, विविधतालाई सम्मान गर्ने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप र सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, उद्यमशील एवम् सकारात्मक सोच भएको, उच्च आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्नेतर्फ माध्यमिक शिक्षा केन्द्रित रहेको छ । यसका लागि माध्यमिक तहका विद्यार्थीमा निम्नानुसारका सक्षमता विकासको अपेक्षा गरिएको छ :
१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी वहन
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह
३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिक रूपमा भाषिक सिपको प्रयोग
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदान प्रदान
५. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथा
स्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास
६. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग
७. व्यावहारिक गणितीय ज्ञान र सिपको बोध र प्रयोग ८. वैज्ञानिक ज्ञान, तथ्य, सिद्वान्त र प्रविधिको समुचित प्रयोग
९. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप ( Life skills) को प्रयोग गर्दै समाजसापेक्ष व्यवहार प्रदर्शन
१०. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता
११. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन
१२. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूको
दैनिक जीवनमा प्रयोग
१३. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वाससाथ तयारी
१४. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग
१५. उच्च तहमा अध्ययनको आधार विकास














Comments

Popular posts from this blog

स्थानीय पाठ्यक्रम Local Curriculum

शिक्षा सम्वन्धि प्रश्नोत्तर